Monday, January 19, 2009

यस्तै छ दुबईमा .....


छाती भरी नेपाल छ , छैन है ऐस दुबईमा
बैंस गयो बिरंगमा, फ़ुल्छ कि केस दुबईमा


दही -मही, गुन्द्रुक- घिऊको तिर्खा जल्छ तन - मनमा ,
तर तिहुन सधै- सधै , ऊही 'ससेस' दुबईमा


बिरक्तिन्छ बिरानोमा , दुख्छ ऊ ताप र चापमा,
फेरी भन्छ नेपाली ज्यान, 'म छु है बेस' दुबईमा

कुच्चिसक्थे कयौं खोपडी 'नेपाली' नाम हेपिदा,
सम्हाल्नै पर्ने के गर्नु ?! 'वीर' आवेस दुबईमा

'मदनहरू' बिरामी छन, छैन 'भोटे' उपचारमा ,
घर फ़िर्ने हो कि होइन, लाग्छ आतेस दुबईमा

के संदेश पठाउँ घरमा!? के भनुँ साथीलाई?!
सास फेर्दा शूल बिझ्छ , हिंडे ठेस दुबईमा


रातको त के कुरा दिनमै ऐठन हुन्छ सत्य !!
चरेस त कहाँ पाउनु , खाइयो हरेस दुबईमा ॥

Saturday, January 10, 2009

This Gajal was broadcasted by Ujyalo FM.( composed on 2064/7/14)

यसपाली बाबालाई टोपी किन्न आउँछु
धैर्य गर मेरी प्रिय छोरा चिन्न आउँछु ।

गोली चल्न छोड़े भन्छन सास फ़ेर्न पाईन्छ कि,
दुई-चार पैसा बोकी ऋण छिन्न आउँछु ,

कति बाँच्नु बियोगमा म त मर्न लागिसके,
खुसीभई तिम्रै अघि-पछि हिड्न आउँछु.

झरयो कि आँसू तिम्रो गाह्रो भो कि घरधन्दा,
मुटुभरि माया बोकी जातो पिँध्न आउँछु ,

बा - आमालाई सम्झाउनू बर्खा काट्नू बलैगरी,
हिउँद्को जाड़ो छल्न मूढो गिड्न आउँछु । ।

Friday, January 9, 2009

बहुलाउन सक्छु म.......




ठूलो छ शहर हराउन सक्छु
बहुलाई एक्लै कराउन सक्छु,

बिश्वास छ कसको, भर यहाँ कस्को,
आफ़न्तसँगै म डराउन सक्छु,

एकान्त मनपर्छ, एक्लो हुन खोज्छु,
छायाँलाई भाग्न अह्राउन सक्छु

देखिन दुबईमा अजम्बरी फूलहरू,
काँडालाई मन पराउन सक्छु,

बन्धकी छ जीवन, बन्दी छ हात-पाउ,
तर मन नेपाल पुरयाउन सक्छु ॥

(Photo source:- NET)

शीत जल्यो !!!!

फेरी आज पँधेरीमा कुरा चल्यो भन्छन
जोड़ी हाम्रो देखेर नै शीत जल्यो भन्छन,

खोट लाउने ठाउँ छैन, हिउँभन्दा चोखो छ रे !
प्रेम होस् त यस्तो नै औंसी जल्यो भन्छन,

उधिन्थ्यो कोही खुकुरीनै प्रेम छिनाउनलाई,
हारेर खलनायक ऊ आफैं ढल्यो भन्छन

भलादमी कुरा चल्दा साथी-भाई बिचमा,
मक्किन्न यो प्रेम घाम-पानी छल्यो भन्छन

मनहरू त अवश्य फ़ुल्छन प्रेमको स्पर्शले,
फूलेर यो प्रेम ढुंगा पनि फल्यो भन्छन॥

Wednesday, January 7, 2009

हिउले छोपिएको मेरो गाउ ....


फुस्फुसाउदै हिउ परयो हिउंसंगै माया
जता जाऊ गुलावी जिउसंगै माया

शहरको लालमोहन वास्ता छैन जेरिको
तिमीलेनै पठाएको घिउसंगै माया
फुल्दा के भो शहरमा रंगी चंगी फुलहरू,
नफुल्ने त्यही गाउकी उनिऊसंगै माया

पाखा-बारी संग-संगै फापर बिऊ छर्दा,
मनमा पानी छारौला है बिऊसंगै माया

तिर्खा लाग्छ खै के को, घर छेउ पुग्दा तिम्रो
मागू की त पानी को निउसंगै माया ॥

Yes, Dear!! I really see U when I close My EYES.


बन्द गर्छु दुई आँखा तिमीलाई देख्छु
जब खोल्छु आँखाहरु आफु एक्लै पाउछु
झास्किन्छु , अतालिन्छु , सक्दिन मन थाम्न
मुटु भित्र छौ की कतै भनी थाल्छु खोज्न॥
उदासिंछा फूल पनि बिरक्तिन्छ साँझ
मनले केवल तिमी खोज्छा भीड़हरु माझ
पागल हुन्छ नदेख्दा मन दुख्न थाल्छ मुटु
उडू भन्छ बादल पारी भन्छ अहिल्ले भेटु ॥

बजाउछु बासुरी म धुनमा तिमी आउछौ
तोलाउछू आकास हेरी जूनमा तिमी हस्छौ
सपना हो की बिपना हो दोधारमा पार्छौ
कुरा गर्छु मीठो-मीठो चुप चाप सुन्छौ ॥
(I feel your presence when I close my eyes
But I find alone me, when I open my eyes
I get frightened, senseless, can’t control my heart
I begin to search, suppose you are in my heart.

Evening feels sad, flowers get dissatisfied
Heart looks just for you among the crowd
In your absence heart feels pain, gets crazy
Says fly beyond the cloud meet immediately.

I play flute, you follow with its melody
You smile on moon when I observe the sky
You make me dilemma, that’s dream or reality
I express lovely talking, you listen silently.)

Monday, January 5, 2009

BAGLUNG, where Even BUFFALO creates POEM and GAJAL!!!!


बाग्लुङ्ग हो यो भैसिलाई' नि गजल फुर्छ यहाँ
निदमा पनि बिरालो मिठो गजल घुर्छा यहाँ

टोलाउदै धौलागिरी भावनामा दुब्दा,
काली पनि नबगेर गजल सुन्न कुर्छ यहाँ

खुईले टाउको समाई घुम्टे पहाड़ पनि,
गल्कोटे फाँट हेरी मिठो गजल कोर्छ यहाँ

गर्भवती आमाहरू रमाऊ-झूम खुसीले,
नजन्मिदै बच्चाको कवि बन्ने सुर्छ ( सुर छ ) यहाँ

ढोका सबै खुल्लाराखी मस्त सुत्नू साहूजी,
चोर आए चोरले पनि गजल मात्र चोर्छ यहाँ ॥
( Journalist, Yasoda Timisina , after visiting my home district Baglung, had written her in Nepal Magazine feelings ‘ Yahanko watawarannai yasto chha ki yaha bhaisilai pani gajal phurchha re!!’, about rampantly growing up and heated GAJAL, POEM environment there in Baglung, inspired me to write this Gajal, I dedicate this gajal to her and all the Baglunge)

Thursday, January 1, 2009

सम्हालिने बाहाना !

हार्नु हुन्न मैले जित्नु पर्नेछ
काँडामा फुलेर बाँच्नुपर्नेछ

तातो तातो हावामा, मरुभूमिको बालुवामा
आफ़न्तको बियोगमा , मुटु दुख्ने पलहरुमा
रुनु हुन्न मैले हाँस्नुपर्नेछ

चौरस्ता र भीडमा, भ्रम र भ्रान्तिमा
ऐठन हुने सपनामा, सिउडी बिझ्ने बिपनामा
निराशिनु हुन्न मैले सम्हालिनुपर्नेछ

संघर्षका यी पलहरु परदेशी कथाहरु
नेपाली छातिमा दुखेका ब्याथाहरू
भुल्नुहुन्न मैले सम्झिराख्नुपर्नेछ ।

देखेर तिम्रो रूप आकाश झुक्न थाल्यो!!!!


देखेर तिम्रो रूप आकाश झुक्न थाल्यो
अल्झेर तिमिमै यो रात रुक्न थाल्यो


मै मात्र छोऊ तिमीलाई, मै चुमू तिम्रो रूप,
चुम्ला कि हावा शंका ले यो मुटु दुख्न थाल्यो


ईंद्रै आशन डगमगाउला नजर तिम्रो पर्दा,
जूनको त के कुरा उ आफै लुक्न थाल्यो


रूप-धूप छ तिमी मा, यौवनको ताप छ
छेउ पर्दा तिमी यो सागर सुक्न थाल्यो ॥

प्रिय तिमी नमुस्कुराउँदा मैले जे सोचे!


यो मनलाई भेट्ने, देख्ने, छुने यस्तै-यस्तै रहर र तिर्सनाले आकुल ब्याकुल पारेपछि ‘तिर्सनाले दुःख निम्त्याउँछ' भन्ने बुध्द वाणीलाई रछ्यानतिर मिल्काएर टाउकोले टेक्दै त्यहाँ पुगें । हो प्रिय, टाउकोले टेकेर नै भन्नु पर्छ किनकी यो महंगीको मारले पिल्सिएको बेरोजगार ज्यानले गाड़ी भाडा तिरेर हिड्नु भनेको एक प्रकारको टाउकोले टेक्नु नै हो । साँच्चै!, आफुलाई प्रिय लागेको वस्तु होस या मान्छे आँखाले डसिरहँदा, मनले चुमिरहँदा, हातले स्पर्श गरिरहँदा कति आनन्द आउदोरहेछ मैले त्यहाँ पसेर मात्र चाल पाएँ । मलाई मिठो उन्मादले यति सम्म पागल बनायो कि मैले तिनीहरुलाई सूँघे, सुम्सुम्याए र बास्ना लिदै मत्मतिएँ । तिम्रो अनुपस्थितिको फ़ाईदा उठाएर मैले जे जति गरे ती सबैको दोष मेरोमात्र हैन प्रिय , मैले यसो गर्नुका पछाडी तिम्रै देशका एक ठूला नेता र एक महान साहित्यकार बी. पि. कोइरालाको हात छ । उनले आफ्नो 'जेल जर्नलमा' “नयाँ पुस्तक र पत्रपत्रिका भनेका भर्जिन केटी जस्ता हुन, तिनीहरुलाई प्राप्त गर्नसाथ मज्जाले नियाल्नु, सुम्सुम्याउनु र वास्ना लिनु पर्दछ’ भन्ने न लेखेको भए पनि मेरो दमित ईच्छा यसरी निर्लज्ज हुने थिएन कि !! हो, मैले निर्लज्जतामा आनन्द लिएँ । आनन्द लिनलाई कहिले काहीं निर्लज्ज पनि हुनुपर्दोरहेछ, थाहा पाएँ । तर म तिम्रो सामू यसरी निर्लज्ज हुन सक्दिन नडराऊ । चाहनानै नभएको चाहि कहाँ हो र!?वास्तवमा , पुस्तक पसलमा गएर पुस्तक खरीद्नुको मजानै बेग्लै ! जुन पुस्तक किनेर पढिन्छ र मजा लिईन्छ त्यतिकै मजा पुस्तक खरीद्दाको बखत पनि हुन्छ मलाई । पुस्तक पसलमा भएका सम्पूर्ण पुस्तक नै गुत्मुत्याएर ल्याऊँ जस्तो भैरहन्छ । मन त्यसै त्यसै लोभिन्छ । सायद यो साउनमा तिमी हरियो चुरा र मेहन्दी देखेर यसरी नै लोभिएकी हौली । त्यसो त, मेरो मन लोभिन, भए नभएको सोच्न , कल्पन र दुख्नकोलागी मात्र हो भन्ने कुरा त तिमीलाई यो साउनमा नाडीभरि हरिया चुरा र मेहन्दी अनि गएको मंसिरमा जन्मदिनको उपहार दिन नसक्दा थाहा पाइसकेकीहौली । तैपनी मन न हो, लोभिन्छ बिचरा । त्यसो त मेरो मन लोभिएरमात्र पनि भएन । जब पुस्तकका १/२ पेज पल्टाएर हेरिन्छ तब त्यहाँ अंकित गरिएको मुल्याले घोषणा गर्छ मानौ, ‘ यो पुस्तक गरीब हरुलाई छुन निषेध गरिएको छ' । प्रिय, तिमी र म दुबैलाई थाहा छ कि लेखकहरु कुनै अलौकिक प्राणी हैनन . उनीहरुलाई पनि त पुस्तक बेचेको पैसाले भूंडी भरेर अर्का पुस्तक बारे सोच्न र लेख्नेगरि दरिनु छ । हुनत; लेखकले भूंडी भर्छन भनेर के पापमा पर्नुछ र?! प्रकाशक, बिक्रेता अनि बितरक अघाईसकेपछि प्राप्त हुने 'सीताले' के सन्तोष प्रदान गर्दो हो र?! लेखेर नै त को धनी बने होला र नेपालमा, सबैको तालू डायमण्ड समशेरको तालुजस्तो भाग्यमानी कहाँ हुन्छ र। जे होस जे. के. रोलिंग नै बनिएला भन्ने सपना देख्दैनन हाम्रा ‘गौ प्राणीहरू’ लेखकहरु । साहित्यसुरा लागेपछि भोको पेट कसेर स्वास्नीका गरगहना बेच्दै र घर जग्गा बन्धकी राख्दै भए पनि साहित्य मन्थन गर्छन वीर (बिचराहरू?!) लेखकहरु । धन्य छन तिनीहरू लेखेर बाँच्न सकिन्न भन्दै बाँचेर लेखिरहेकाछन । प्रिय, कुरा मेरै गरुँ , म मूल्यफोबियाबाट ग्रस्त छु । पुस्तक पसलमा पसे पछि पुस्तक सुम्सुम्याएर मात्र फर्किएका थुप्रो कहानीहरु मेरो छातिभरि कुँडिएर बसेकाछन । धन्य पुस्तक पसलेले पुस्तक सुम्सुम्याएको पैसा लिदैन । केहि दिन अघिकै कुरा गरौ न, खगेन्द्र संग्रौलाको सम्झनाका कुईनेटाहरू , उहाँलेनै अनुबाद गर्नु भएको जोन उड़को माइक्रोसॉफ्टदेखि बाहुनडाडाँसम्म , संजीव उप्रेतीको 'घनचक्कर', 'लडाईंमा जनता' , जगदीश घिमिरेको 'आत्मालाप' , सम्राट उपाध्यायको 'अरेस्टींग गड इन काठमांडू' आदिलाई सुम्सुम्याएर फर्केको थिएँ । सुम्सुम्याउन सम्म पाएकोमा पनि धेरै दिनसम्म गर्वको महसूस भैरहयो । किन्न पाएको भए !? भो कुरै नगरौं, जे होस, गाँसै काटेर भन्नुपर्छ आज भने मैले चारवटा पुस्तक, सरुभक्तको 'पागलवस्ति' , सम्राट उपाध्यायको 'गुरु अफ़ लव' , गोबिन्दराज भट्टराईको 'मुगलान', सेना सम्बन्धी पुस्तक डॉ. प्रेमसिंह बस्न्यातको ‘नेपाल आर्मी इन टिबेटन खम्पा दिसार्मिंग मिशन' किनिरहँदा सोचे यी पुस्तकहरु तिमी र म सँगसँगै बसी थोरै जिस्किदै र थोरै छलफल गर्दै पढ्न पाएँ ।प्रिय तिमीले यो नसोच्नुकी म किताबमा भुलेर तिमीलाई माया गर्न भूलें , यहि किताबहरु र यसमा कुँदिएका हरफहरुनै त हुन तिमीलाई मायागर्न सिकाउने मेरा गुरूहरू । हैन भने म यसै त लज्जालु र संकोचीले कसलाई कसरी सोध्नु प्रेम के हो भनेर, किन गरिन्छ भनेर! त्यसो त मायाको अर्थ नसोध्नु माया वास्तवमै के हो भन्ने सम्बन्धमा, म अझै कन्फ़्युजन्मा छु । हो किताबलाई औधी श्रध्दा गर्छु तिमीलाई अति माया .. म यति चाही राम्ररी जन्दछु । त्यसैले त किताव किन्ने बहानामा म तिम्रै प्रदेशमै छु । के मेरो टोलमा ती नपाइदाहुन र!!? तिमीलाई भेटने मेरो गोप्य योजना भएको हुनाले नै आज म एक बिहानैदेखि चुर्फुरिएको थिए । पाकेका यी दारी जुंगालाई यति मेहनतकासाथ बनाएँ कि म मेहनती पनि छु है भन्ने लागिरह्यो तर झस्किएँ पनि किनकी यही तरिकाले दारी जुँगा बनाएर समय खर्चिदै जाने हो भने एक चौथाई उमेर यही दारी जुंगा मुसार्दैमा जानेछ । जुन तिमीलाई मायागर्ने समय भन्दा धेरैले बढ़ी हुनसक्ला । अनुहारलाई ऐना अगाडी राखेर यति कस्ट दिएँ कि साध्य नै छैन । तर निधारमा देखिएका बुढ्यौलीका धर्साहरु र गालाका खल्डाखुल्डीहरु मरिजाउँ पुरिए पो ! शरिरमा कपडा झुन्ड्याउन पनि एक घण्टाभन्दा बेसी लाग्यो तर लास्टमा थाक्रोमा झुम्रो बेरेजस्तो भएपछि मेरो के हाल भएहोला आफै अनुमान गर्नु । के गर्नु आफ्नो शरिरनै यस्तै सुकेको दाउराजस्तो भएपछि । वास्तबमा मेरो लक्ष्य तिम्रो सुन्दर आँखाहरु जस्तै सुन्दर हुने थियो तर अर्कै 'केही' भएँ त्यस्को नाम जुरेको छैन , पछि भनुँला जुराएर ।जे होस पहिलेभन्दा अलि गतिलै भएजस्तोचाही लाग्यो है ! र, यो पनि लग्योकि मान्छेले सिंगार पटार आत्मबल बढाउनकोलागी गर्दोरहेछ । साँच्चैनै तिमीछेऊ आउन मलाई आत्मबलको जरुरी थियो ।प्रिय, तिम्रो अनुहारमा सदा फुल्ने न्याचुरल मुस्कान तिमीले कता हराएकी !? किन झोक्रिएकी हँ तिमी? तिम्रो मुस्कान, निर्दोश्पन , निश्छलता तिम्रो चिनारी हो, तर आज मलाई तिमीले त्यही चीज गुमाएजस्तो लाग्यो । मलाई आजकी तिमी हैन उही पुरानो तिमी हेर्न मन छ । प्रिय मुस्कुराउन यस्तै यस्तै केही भन्न मन लागिरह्यो .आज घाम नलागेर हो!? पानी परेकाले हो कि ?! कि म जस्ता थुप्रै भँमराहरुले सताएर पो हो कि यति सुन्दर फूललाई ?! कि भित्र मुटुमा कहि त्यस्तो चोट छ जो मैले देख्नसक्दिन !? नजरले मात्र मनको कुरा अन्दाज गर्नु कसरी.?! लाग्छ फूल बिरामी छ । मुस्कान अस्ताएछन ओठबाट । नैरास्यता झुल्किएका मुहारमा। चन्चल आंखाँ किन त्यति सारो नियास्रिएका?!! तिमी के तिमीनै हौ जो पहिला थियौ ?! कि म. म होइन पहिला जो थिएँ?! शारीरिक भाषाले पहिले जो थियौ त्यों नहुनुलाई संकेत गर्दछ सायद.। हामी औपचारिक हुदै अनौपचारिक भयौ खोई फेरी के भयो बदलियौ फेरी औपचारिकतामा । मलाई औपचारिक हुनुजति अभीशाप केमा लाग्दो हो जिन्दगीमा !!. मन्दिरका मूर्तीहरूले भक्तहरुलाई तथास्तु नभने के भो र, भक्तहरू आफ्ना इस्टदेवकामुर्तिहरुमा अघोरै आस्थाले झुकिरहेकैछन । पूजिरहेकैछन । म पनि तिम्रो अनन्य भक्त हूँ , सायद सुन्दरता कोमलता, निश्छलता र निर्दोषताको पनि । तिम्रो समिप्यमा किन गर्व नगरुँ?! किन चुपचाप नहेरुँ तिमीलाई?!!‘नबोल्दा स्वास गनाउँछ, त्यसैले बोल्नु पर्छ’ मेरा एकजना मित्रले यस्तै भन्ने गर्थे, मैले तिमीलाई त्यहि भनुँकि भनेर २/३ चोटी अप्थ्यारोले चल्मलाएँ तर केही लागेन । मेरो जिब्रो त्यति बाचाल हुन पाएन । मनको के कुरा मनले के नसोच्दो हो !वास्तवमा मन सोच्नकोलागी मात्र ठीक छ । दुख्दाखेरीको के कुरा मन नभएकै बेस । तिमी बोल्ने जाँगर चलाएनौ, न म खुलेर गफिन सके । लाग्यो हामी एक-अर्कालाई कहिल्यै चिन्दैनौ । बरु गीतमा आफुलाई भुलाउने प्रयत्न गरें । तिम्रो एफ्एम् सेट्मा बज्ने सबै गीत मीठा हुन्छन या यहाँ बज्ने सबै गीत मलाई मीठा र अर्थपूर्ण लाग्छन म भन्न सक्दिन तर सधै जस्तो आज पनि उही एफएम सेट्ले उसरीनै अर्थपूर्ण र मिठो गीत गुन्जायो . .. ।यो हाम्रो माया साच्चै …..साँच्चै … अनौठो लाग्यो मौसम थियो बसन्तको हरदम सुनौलो थियो .. एक अर्कामै हराउने संसार हाम्रो आफ्नैथियो चखेवा जोड़ी डुबने लहर आफ्नैरित्तिन्न प्रेम सागर प्यास बढ्दै थियोयो हाम्रो माया साँच्चै ... साँच्चै अनौठो थियो . ............... के मैले चालपाईनहोला तिम्रा सुकोमल औलाहरु गीतको धूनसँगै चल्मलाएको ?!! साँच्चै म भित्र भित्र कुत्कुतिएँ । अनि सोधुँ सोधुँ भैराह्यो गीत मिठो छैन त भनेर. ?तर सोधिन । मनको कुरा मुखसम्म आयो अझै ओठसम्म नै आयो भन्नु राम्रो होला । उदित र साधनाको स्वरमा गुन्जेको त्यों गीतले मलाई लठ्याईरहदा मैले सोचिरहेँ यदि तिमी साधना र म उदित भएको भए वा हामी दुईले यो गीतमा मोडलिंग गर्दै गरेको भए रोमान्तिकताले कुन सगरमाथा चढ्दोहो ? मैले त्यों विजयलाई कुन नाम दिन्थे हुँला? औपचारिकतामा सिमित हाम्रो भेट औपचारिक भएर तुङ्गिएको भए यो मुटुमा यती सारो मुङ्ग्रो बज्रने थिएन कि?! यसलाई गुनासो नठान्नू ,. आफ्नोपन खोज्नेठाऊ तिमीलेनै दिएपछि मैले यस्तो नभनुँ कसरी ?!, मन नदुखोस कसरी ?!! ‘म गएँ’ भनेर टोपल्न पनि सकिन किनकी म त्यहाँ आउछु है भनेर आएको थिएन, न त तिम्रो निमन्त्रणा नै थियो । मान्छे किन यस्तोबिधी आशाबादी हुन्छ हँ ?! सायद बाँच्न सिकाउँछ आशाले !. मिठो स्वरमा ‘बाई बाई’ .. , ‘राम्रोसंग जानू है ल’.. भनेर कसैले भन्छकि भन्ने ठुलो आशले बिस्तारै बिस्तारै पाईला चाले । तर, मिठो त के त्यहाँ कुनै खस्रो र तितो स्वरसम्म थिएन मेरोलागी . ओठले किन किन पटक पटक फुसफुसाई रह्यो ….तिमी नहुँदा जिन्दगी कांडा सरी छ … फेरी कुनै गुनासो छैन …..!!!!

जेठ २८, २०६५ गजल

छटपटी छ मनभरी तिर्खाले ब्याकुल छु
लाग्दछ यो बस्तिमा ममात्र ककाकुल छु
फेवा बोकी कोही दिलदार आउलाभनि,
बुझ न ए ... निलगिरी म प्यासी चुलबुल छु
रात अँध्यारो आई भर्दछ मनमा शंका,
शंकैले म जल्दैछु ढल्नलाई ढुलमुल छु
ए .... गजलकी प्रेमिका ओ ... सुवाशिली सुंदरी,
ढोका खोली चिहाऊ बहिर म बुलबुल छु ।