Sunday, December 27, 2009

मुटु मैले तिमी छेउ खसाएर जादैछु


भन्नुपर्ने धेरै थिए लुकाएर जादैछु
वियोगले खहरे झै सुसाएर जादैछु,

दया लाग्छ भने प्रिय जतन गरिदिनु,
मुटु मैले तिमी छेउ खसाएर जादैछु

मर्छु कि म बेदनाले बाँच्छु घाईते भई,
छायासँग आफ्नो ज्यान छुटाएर जादैछु

भक्कानिदै भित्र-भित्र ओठ्ले हाँसे जस्तो गर्दै,
परेलीमा महासागर रसाएर जादैछु ।

Saturday, December 19, 2009

तिमी नरोक भावनाहरू प्रेमका ,

नकोर- तिमी नकोर सीमानाहरू प्रेमका
नरोक- तिमी नरोक भावनाहरू प्रेमका,


आउ -आऊ, सुस्तरी आऊ दिलको ढोका खोल,
ल हेर ! अब कति छन् सम्झनाहरू प्रेमका


निदाऊ- तिमी निदाऊ, छातीमा आई निदाऊ,
ल चुम तिमी यी मीठा सपनाहरु प्रेमका


उठेकाछन् छालसरी हजारौं प्रेमी हातहरू,
स्वीकार-तिमी स्वीकार कामनाहरू प्रेमका


डुब तिमी कल्पनामा, उड तिमी कल्पनामा,
सारथी- हुन् सारथी कल्पनाहरू प्रेमका ।

पौडिन प्रेम तालमा आयौ


कहिले तिमी छतमा आयौ, कहिले तिमी झ्यालमा आयौ
थाहै नदिई कहिलेदेखि, मेरो दिलको ख्यालमा आयौ !?

अरु नै थिए फुलेर हाँस्ने, म त झरेको पात झै रुने,
कस्तो उमङ्ग देखेर फेरी, मेरो नै प्रेम जालमा आयौ ?!

सोचेर तिमी पाइला चाल्नु, नबनोस यो पागलपन तिम्रो,
दरबार जस्तो घरबास त्यागी, बाटोको थोत्रो पालमा आयौ

के छ त्यो ममा, अरुमा छैन ?! मिल्छ के त्यो, मिल्दैन अरुमा ?!
बिर्सी फेवा-रारालाई तिमी, पौडिन प्रेम तालमा आयौ

फूल झै भईछौ रमाएँ म , नसुँघ्दै बास्ना लठ्ठिएँ म ,
एकसठ्ठीमा सानी नै थियौ, बढेर कुन सालमा आयौ?

Saturday, December 5, 2009

मीठा मीठा सपना सबै छुन पाएहुन्थ्यो !

मीठा मीठा सपना सबै छुन पाएहुन्थ्यो
कल्पिएका कुरा जस्तै हुन पाए हुन्थ्यो

सबै खुशी दिई अभाव झुपडीलाई,
तिनका आसुँ मैले रुन पाएहुन्थ्यो


चहिएन सिङ्गार् कपटी मुहारलाई,
मनको मैलो सबै धुन पाएहुन्थ्यो

कति होलान मनहरु अँध्यारोमा अल्झेका,
तीनले सधैं पूर्णीमा जुन पाएहुन्थ्यो