Saturday, June 5, 2010

कति टालो थप्यौ बाबा थोत्रो टोपीमा


कति टालो थप्यौ बाबा थोत्रो टोपीमा ?

कति फिता फेर्यौ बाबा थोत्रो चप्पलमा ?


आउछ रे भोली भन्थ्यौ भोली आएन कि,

थोत्रो भोटोले ' अझै पालो पाएन कि


कति आश फाट्यो बाबा कछाड् फाटेजस्तै

कति मनलाई टाल्छौ बाबा दौरा टालेजस्तै


चप्पल छ कि खाली काट्छौ हिउदे तुसारो?

कति रिन पुग्यो बाबा कति छ उधारो ?


सयौ सपना जन्मिएर त्यसै मर्यो कि

खाली पेट सुत्ने अब बानी पर्‍यो कि !


याम बुढा मगर

Sunday, April 25, 2010

चिल्लो पिरो अमिलो त नखानू है प्रिय

यो गजल सर्वप्रथम मेरो साथी महेश दाहाललाई समर्पण गर्न चाहन्छु । यो गजल तयार गर्दा उनी नै पृष्‍ठभूमीमा थिए । उनी आफुलाई माया गर्ने मान्छेहरु, आफू हुर्केको घर-आगन, आफ्नो गाउँ-परिबेश, प्यारो प्यारो देश छोडेर भर्खर आइपुगेकाले उनको मुहारमा केही वियोगका पिडाहरु र केही गम्भिर रहस्यहरू देख्न सक्थे म । साँच्चै भन्ने हो भने उनको त्यो पिडा गम्भिरता लाई ब्यङ्ग्य घोच्न गति-छाडेर लाग्ने काम मबाट प्रशस्त भए । गाडीमा सँग-संगै हुइकिदै गर्दा उनलाई मैले जिस्क्याएर सोधेथे, ' हिड्ने बेला तिम्रो सानूले के के भनिन् हँ'? सधैं जस्तै उनको उतर थियो ' ह्या।।।गिदी नगर्नुस् न' । जिस्क्याउदै उनलाई सोधेको यो प्रश्नले म आफैलाई पो चिसो लाग्यो । मेरा साथीहरू सोच्नोस् त बियोगिदै गर्दाको त्यो अन्तिम क्षणमा प्रियसीहरूले आफुलाई सम्हाल्न सके पिडा भरिएको बोलीले, नसके बिक्षिप्त मनै मनले यस्तै ( तल लेखिए जस्तै ) भन्दा होलान् । लौ आउनुहोस् यो गजल तिनै मायालू मनहरुलाई, तिनै प्रियसिहरूलाई , तिनै आफन्तहरूलाई समर्पण गरौ ।

चिल्लो पिरो अमिलो त नखानू है प्रिय,
सधैं आफ्नो ज्यू-ज्यानको ख्याल्-राख्नू है प्रिय

दैब लाग्छ कुन्-बेला, कसलाई के थाह,
सित्तै मिले अमृत'नि नचाख्नू है प्रिय,

हतार कैले नगर्नू, निराश नहुनू
अप्थ्यारोमा आफूलाई सम्हाल्नू है प्रिय

चलाखीमै निदाउनू, खेलाँची नगर्नू
आगो-पानी शत्रु सानो नआँक्नू है प्रिय

देउता झै छौ तिमी, देउता नै रहनू
जाँड रक्सी कूलतमा नलाग्नू है प्रिय

संघर्स हो रे जीवन, जीवन संघर्स,
दु:खसँग डराएर नभाग्नू है प्रिय ,

कुरुला म सङ्घारमा, राखेर जल्-घडा,
मेरो दशैं तिहार भै आउनू है प्रिय

Tuesday, March 2, 2010

के गर्नु खोजेको मैले?! पुच्छर हराएछ हैन त ?


वियोग र आसुँ टाढा प्रेमको समाज होस् ((प्रणय-दिवसको अवसरमा मेरा साथीहरुलाई उपहार )

वियोग र आसुँ टाढा प्रेमको समाज होस्
अमर रहोस् प्रेम त्यहाँ- प्रेमकै राज होस्

सत्य छ प्रेम, अजय छ, अमृत झैं चोखो छ,
छिनिन्न यो तरवारले वैरीलाई अन्दाज होस्

ईर्श्या र घृणा हुँदा, दुनियाँ यो दुशमन हुँदा,
प्रेमीहरुको शिरमा नै विजयको ताज होस्

गर्दछ जो प्रेम- कर्म, मर्दछ जो प्रेममै
नायक होस् ईतिहासको, सु-पूज्य आज होस्
(Broadcasted by Bulbul, Ujyalo FM)
यम बुढा मगर, बाग्लुङ

Sunday, December 27, 2009

मुटु मैले तिमी छेउ खसाएर जादैछु


भन्नुपर्ने धेरै थिए लुकाएर जादैछु
वियोगले खहरे झै सुसाएर जादैछु,

दया लाग्छ भने प्रिय जतन गरिदिनु,
मुटु मैले तिमी छेउ खसाएर जादैछु

मर्छु कि म बेदनाले बाँच्छु घाईते भई,
छायासँग आफ्नो ज्यान छुटाएर जादैछु

भक्कानिदै भित्र-भित्र ओठ्ले हाँसे जस्तो गर्दै,
परेलीमा महासागर रसाएर जादैछु ।

Saturday, December 19, 2009

तिमी नरोक भावनाहरू प्रेमका ,

नकोर- तिमी नकोर सीमानाहरू प्रेमका
नरोक- तिमी नरोक भावनाहरू प्रेमका,


आउ -आऊ, सुस्तरी आऊ दिलको ढोका खोल,
ल हेर ! अब कति छन् सम्झनाहरू प्रेमका


निदाऊ- तिमी निदाऊ, छातीमा आई निदाऊ,
ल चुम तिमी यी मीठा सपनाहरु प्रेमका


उठेकाछन् छालसरी हजारौं प्रेमी हातहरू,
स्वीकार-तिमी स्वीकार कामनाहरू प्रेमका


डुब तिमी कल्पनामा, उड तिमी कल्पनामा,
सारथी- हुन् सारथी कल्पनाहरू प्रेमका ।

पौडिन प्रेम तालमा आयौ


कहिले तिमी छतमा आयौ, कहिले तिमी झ्यालमा आयौ
थाहै नदिई कहिलेदेखि, मेरो दिलको ख्यालमा आयौ !?

अरु नै थिए फुलेर हाँस्ने, म त झरेको पात झै रुने,
कस्तो उमङ्ग देखेर फेरी, मेरो नै प्रेम जालमा आयौ ?!

सोचेर तिमी पाइला चाल्नु, नबनोस यो पागलपन तिम्रो,
दरबार जस्तो घरबास त्यागी, बाटोको थोत्रो पालमा आयौ

के छ त्यो ममा, अरुमा छैन ?! मिल्छ के त्यो, मिल्दैन अरुमा ?!
बिर्सी फेवा-रारालाई तिमी, पौडिन प्रेम तालमा आयौ

फूल झै भईछौ रमाएँ म , नसुँघ्दै बास्ना लठ्ठिएँ म ,
एकसठ्ठीमा सानी नै थियौ, बढेर कुन सालमा आयौ?

Saturday, December 5, 2009

मीठा मीठा सपना सबै छुन पाएहुन्थ्यो !

मीठा मीठा सपना सबै छुन पाएहुन्थ्यो
कल्पिएका कुरा जस्तै हुन पाए हुन्थ्यो

सबै खुशी दिई अभाव झुपडीलाई,
तिनका आसुँ मैले रुन पाएहुन्थ्यो


चहिएन सिङ्गार् कपटी मुहारलाई,
मनको मैलो सबै धुन पाएहुन्थ्यो

कति होलान मनहरु अँध्यारोमा अल्झेका,
तीनले सधैं पूर्णीमा जुन पाएहुन्थ्यो

Sunday, October 18, 2009

आउला र तिहार मखमली फूलमा !!?

यो मनको खुसी सबै निमोठी
बस्तीको दियो सधैलाई निभाई
कहाँ जान्छु भन्छौ ए मेरो साथी
बर्षौको साथ यो साइनो मेटाई ,

बिरक्तिदा कोइली तिम्रो वियोगमा
फुल्नेछ गुराँस रंग हराई
कसरी हेरुंला चमेली फूलको
नानीको बेदना एकहोरो रुवाई

सम्झाउला कसरी आरुको फूललाई
भनुँला के मा स्याउको बोटलाई
कसरी लखेतुला तिमी नहुँदा
जेठको दिन हिउँदको रातलाई

हराउदा धूपिले आफ्नो सुगन्ध
फुल्ला र फापर बारीको दिलमा
दुखमा साथी सबै रुदा
आउला र तिहार मखमली फूलमा !!?

Friday, June 12, 2009

संसारै हेर्नदेउ

नपुछ्नु आमा यो मेरो आँसु आँफैलाई पुछ्नदेउ
ममताले बाटो नरोक्नु बिन्ती संसारै हेर्नदेउ

किनार बसि जानिन्न आमा सागरको गहिराही ,
टिपेर ल्याउला म बरु मोति पिंधमै पुग्नदेऊ

सानो भो अब मायाको गुँड हुर्कियो बचरा,
थामिन्न मन देखेर आकाश बेगमारी उड्नदेउ

खारिएरै धाउ सुन बन्ला आमा चिन्तामा नपर ,
आगो-पानी सबै छुनदेउ बरु संसार बुझ्नदेउ

Saturday, May 30, 2009

म सधै आउँला तिम्रो हर सपना

तिम्रो यो मनको, तिम्रो त्यो जीवनको
म त एक पाहुना, एक साँझको पाहुना
भोली त यो मिलन अतीत भईसक्छ
तिमी र म हुनेछौ बियोगको एक नमूना
म कतै दुखिर'दा तिमी कतै झास्किनेछौ ,
भुलिदिने बहानामा झन धेरै सम्झिनेछौ
संगाल्ने छ हाम्रो मनले नतुन्गिने बेदना

बहकिनेछौ तिमी कतै एउटा प्रेमी मुटुसँग,
म कतै उडिरहुँला मेरो आफ्नो सपनासँग
तर पहिलो प्रेम होला जीवन भर सम्झना

यो अंगालो यी नयन ती मायालु हातहरु ,
यस्तै प्रिय नहोलान भोली आउने रातहरु
तर म नै आउनेछु तिम्रो हर सपना

माछापुछ्रे त बिम्ब न हो, सम्झेको त केबल तिमीलाई हो




नजिक आउदै स्नेहले डस्छ माछापुछ्रे
प्रभातमा मेरै सिंदूर घस्छ माछापुछ्रे


मैले हेर्दा खै के को मात चढ्छ जन्दिन म,
नांगिएर फेवातालमा पस्छ माछापुछ्रे


हरेक साँझ सराङ्कोतमा आउनु भन्छ लजाउंदै
नआउँ भने एक्लै कुरी बस्छ माछापुछ्रे


चन्द्रमाको ताज लगाई मलाई जिस्क्याउँछ
टाढा जाउँ त सम्झनाले कस्छ माछापुछ्रे


तिमीसँग पोखरामा घरजम गर्छु भन्ने सुनी
उफ्रिएर आकाश छुदै हाँस्छ माछापुछ्रे

Friday, April 17, 2009

ओ ! निलगिरी हाँसो नमाग !


नमाग्नु हाँसो निलगिरी मैले हाँस्न बिर्सिसकें,
सुखसँग डर लाग्छ , खुसीसँग म तर्सिसकें,

बिना मौसम, बिना बादल, मरुभुमिको बलुवामा,
आफै भित्र चत्याङ्ग परे, झरी बनी बर्सिसकें,

म छैन -म जस्तो चिहानतिर छु कि लाग्छ,
बेचियो सायद स्वाभिमान, ज्यान बलीमा अर्पिसकें,

ओ हिमाल, ओ फेवा, भरोसा देऊ चिसो हम्क,
भुङ्ग्रोमा म जल्न लागे भित्र -भित्रै चर्किसकें,

बिपना हो कि सपना हो, भ्रम, भ्रान्ति, सत्य के
हो कोही भन्छ ' तँ मूर्दा होस फूल अबीर छर्किसके'

Tuesday, March 24, 2009

तिमी भए चाहिन्न अरु केही


यो बाटोले कहाँ लान्छ बताईदेऊन गोरी मलाई

मेरो सपनाको स्वर्ग पुरयाईदेउन परी मलाई


छ रे भन्छन कतै टाढा जीवन फुल्ने सुन्दर देश,

उडाएर संगै लैजाऊ त्यतै प्रेम-चरी मलाई


बाँच्न चाहन्छु तिमी भई हराउन चाहन्छु तिमीमा,

बिन्ती नशा- नशा बगाऊ जादु तुना गरी मलाई


कति टोलाऊ आकाश हेरी कति बोलाऊ भाका फेरी,

एक अंजुली माया देउन धरतीमा झरी मलाई


तिमी भेटू हर पाईला तिमी देखूँ हर दृश्य,

तिमी पाए चाहिन्न धन फूल सुनाखरी मलाई

नेपाली मन

नाता जोड्छु भन्नेले नेपाली मन लिईआउनु
पखालेर कुसंस्कार आफ्नै पन लिईआउनु

रंगिएको संसार सजाउने मुटु छैन,
उही सदा गाउँले जीवन लिईआउनु

झुल्किएन तारा-जून मेरो गगनमा,
कालो बादल हटाउन पवन लिईआउनु

मरिलानु के छ, बाँचुन्जेल रमाऔंला,
ल्याउछौ त कोशेली मिठो बचन लिईआउनु